काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले चार दर्जन बढी फूलका विरुवा रोपेको छ । आज (बुधबार)विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा क्यालेन्द्रा, करबिर, टेकोमा, फ्लावरिङ्ग पिच, वगनवेली, विस्टेरिया, बेगाेनिया भेनेष्ट लगायतका पुष्पजन्य विरुवा रोपेको हो ।
कार्यक्रममा बोल्दै फ्यानका अध्यक्ष मिनबहादुर तामाङले पार्कलाई साैन्दर्य र पर्यटकीय क्षेत्रको रूपमा चिनाउनको लागि आफूहरूले विभिन्न पुष्पजन्य विरुवा रोपको बताए ।
अध्यक्ष तामाङले विगतलाई स्मरण गर्दै धोबिखोला किनारमा सेतोपुलदेखि पहेँलोपुलसम्म २०७१ देखि २०७४ सम्म फ्यानले वृक्षरोपण गरेर सहरको सौन्दर्य बढाएको दाबी गरे ।
उनले भने, “त्रिभुवन पार्कमा पनि वृक्षरोपण कार्यक्रम गरे आन्तिरक र बाह्य पर्यटक प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले आज विश्व वातावरण दिवसको अवसरमा हामीले यो कार्यक्रम गरेका हौँ । अगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने छौँ ।”
उनले काठमाडौँ र ललितपुर महानगरपालिका पार्क र सडक किनारमा वृक्षरोपण गर्ने योजना बनाउँदा नगरप्रमुखहरूले आफूहरूलाई भेट्न नखोजेको गुनासो गरे । “पत्र काटेर नै भेट्ने प्रयास गर्दा पनि हामीले भेट्न सकेनौँ र उहाँहरूले हाम्रो उद्देश्य बुझनु भएन् । त्यसैले हाम्रो सामाजिक दायित्व अनुसार त्रिभुवन पार्कलाई अझै राम्रो बनाउन काम गर्ने छौँ ।”
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ रहेको छ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्