सहकारी छानबिन समितिको पहिलो बैठकः दुई दिनभित्र कार्यविधि बनाउने निर्णय


काठमाडाैँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो । कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचिमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूचि भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए । उनले समिति सदस्यहरूले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिवद्धता पनि त्यही रहेको बताए ।

त्यस्तै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताइन् । उनले आफूहरू कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारिन् ।

समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताए । उनले समितिले गर्ने कामहरू सर्वसम्मत निर्णयको आधारमा हुने बताए । समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ ।