सहकारी छानविन प्रतिवेदनहरू उपलब्ध गराउन संवद्ध पक्षलाई छानविन समितिको आग्रह


काठमाडाैँ । सहकारी वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी छानविनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन तत्काल उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो । सहकारी छानविनको सम्बन्धमा विगतमा बनेका सबै छानविन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्वद्ध सबै पक्षलाई असार २ गते भित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरू गरिएको छ । त्यसलाई अन्तिम रूप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए ।

बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरूले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमती पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौता पेश गर्न निर्देशन दिएको थियो । सोही अनुसार आजको बैठक कार्यविधि पेश भएको र त्यसमा छलफल पनि शुरु गरिएको विशेष समितिले जनाएको छ । सभापति थापाले प्रश्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले आफ्नो कामलाई अघि बढाउने पनि बताए ।