काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिती १९ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार २०८१ बैशाख मसान्तमा नेपालको विदेशी विनिमय सञ्चिती १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।
बैकिङ्ग क्षेत्रसँग विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ । आर्थिक वर्ष २०८०÷८१ को दश महिनाको आयातलाई आधार मान्दा वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको हो ।
२०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः२८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्