सहकारीको ऋण तिर्दिन भन्नेहरूलाई महानगरमा जानकारी गराउनुस् : अध्यक्ष तिवारी


काठमाडौँ । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीबाट ऋण लगेर तिर्दिन भन्नेहरूका बारेमा महानगरपालिकामा उजुरी दिन आव्हान गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाले आयोजना गरेको सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिमको जेठ २८ गते समापनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सदस्यले दुख गरेर वचत गरेको रकमबाट सदस्यहरूलाई ऋण लगानी गरिएको हुन्छ, सदस्यको रकमबाट गरिएको रकम ऋणका रुपमा लगेका सदस्यहरूले समयमा भुक्तान नगर्दा वचत फिर्तामा दवाव पर्ने भएकाले ऋण लगेका सदस्यहरूले समयमै भुक्तानी गर्नु पर्नेमा उनले जाेड दिए ।

सहकारीबाट ऋण लगेर फिर्ता नगर्ने ऋणीहरूका बारेमा महानगरपालिकालाई जानकारी गराउन आव्हान गर्दै अध्यक्ष तिवारीले सहकारीको वचत फिर्ता नगर्ने र ऋण फिर्ता नगर्ने दुवै कार्य गलत भएको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुली, बैंकको गण्डकी प्रदेश शाखाका प्रमुख नरेश पाण्डे, सहभागीहरु रुपाताल पुनस्र्थापना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी र शक्ति महिला कृषि सहकारीका अध्यक्ष मिना माया श्रेष्ठ लगायतले तालिमको प्रभावकारीता र कार्यान्वयनका विषयमा धारणा राखेका थिए ।