ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको समेत बताए । उनले मन्त्री भएर बजेट छुट्टाउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकको बताए ।

उनले ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने बताए । उनले ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको समेत बताए । उनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए ।

अध्यक्ष लिङ्देनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । उनले विदेशीको हातमा आयोजना राख्न दिनेभन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेका बताए ।