सहकारी संसदीय छानबिन समितिले सुरू गर्‍यो कानूनी परामर्श


काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श सुरू गरेको छ ।

बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताए । उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए ।

उनले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताए ।