विश्वप्रकाशको प्रश्नः जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर फुक्नु भगाउने नियत हो ?


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरे । उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गरे ।

उनले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए ।

“सहकारी ठगिमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगिमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जिबिको लोकेशन चाहिएको होइन । देशलाई जिबी राई चाहिएको हो । अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहान्छु”,उनले भने ।