भारतको देहरादुन र काठमाडाैँबिच सिधा हवाइसेवा संचालन गर्ने विषयमा उत्तराखण्डका मुख्यममन्त्रीसँग छलफल


काठमाडाैँ । नेपाल पर्यटन बोर्ड काठमाण्डौ र नाट्टा सुदुरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भारतको देहरादुनमा बी टू बी सेल्स मिशन कार्यक्रम सम्पन्न भएको छ ।

असार ८ गते आयोजना गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सहित सुदुरपश्चिम प्रदेशका ८ वटा पर्यटन सम्बद्ध व्यवसायी कम्पनीहरुले भाग लिएका थिए ।

कार्यक्रममा देहरादुन स्थित पर्यटन सम्बद्ध संस्था दुन ट्रावल ओनर्स एशोसिएसन ( डीटीओए) र नेपाल स्थित नाट्टा सुदुरपश्चिम बिच दुवै देशको पर्यटन प्रवद्धन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार दुवै देशले पर्यटन प्रवर्द्धन तथा बजारीकरण सम्वन्धमा भावी दिनमा सहकार्य र साझेदारी गर्दै नियमित रुपमा पर्यटन प्रवर्द्धन सम्वद्ध यस्तै प्रकृतिका गतिविधिहरु संचालन गर्ने समझदारी भएको छ ।

सो अवसरमा नेपाल पर्यटन बोर्डको तर्फवाट बोर्डका बरिष्ठ प्रवन्धक खड्ग विक्रम शाहले नेपालको पर्यटन, पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

प्रवन्धक शाहले सुदुर पश्चिम तथा समग्र नेपाल चिनाउने गरी खासगरी भारतीय बजार तथा भारतीय पर्यटक लक्षित विषयवस्तुहरु समेटी प्रस्तुती दिएका थिए । यस्तै कार्यक्रममका सहभागीहरुलाई स्वागत गर्दै नाट्टा सुदुरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंहले भारतीय टुर अपरेटरहरुलाई नेपालका टुर प्याकज बेच्दा सुदुरपश्चिमका विभिन्न गन्तव्यहरुलाई समावेश गरी टुर प्याकेजहरु बेच्न अनुरोध गरेका छन् ।

यसैगरी उल्लिखित भ्रमण कार्यक्रम सम्पन्न हुनुपूर्व भ्रमण दलले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेटघाट गरी देहरादुन र काठमाण्डौ बीच सिधा हवाइ सेवा संचालन गर्ने विषयमा आवश्यक पहलकदमीको लागि अनुरोध गरेको छ । उक्त भ्रमण दललाई उत्तराखण्डका मुख्यमन्त्रीले देहरादुन देखि काठमाण्डौसम्मको सीधै हवाई उडानको विषयमा आफू सकारात्मक भएको र निकट भविष्यमा नै सेवा सुचारु हुने जानकारी दिए ।

कार्यक्रममा नेपालबाट सहभागी व्यवसायीहरुले कार्यक्रम सफलतापूर्व सम्पन्न भएको र कार्यक्रम आगामी दिनमा प्रभावकारी बनाउन सुक्ष्म ढंगले पूवतयारी गरी कार्यक्रम गर्नुपर्ने, नेपाली संस्कृति तथा झाकी समेत नेपाली समुदायसँग समन्वय गरी प्रदर्शन जस्ता कार्यक्रम गरी यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताए ।