भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह


काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसार गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामति क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे । उनले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको दाबी गरे।

उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामति सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए ।

“देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ । हाम्रो निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई पनि बताउँछ । यो निजामतिमा मात्रै सिमित रहेर सम्भव छ ।”

उनले निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताए ।