कोशी प्रदेशः कृषि क्षेत्रमा प्रवाहित कर्जा घट्यो


काठमाडौँ । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थहरुले कृषि क्षेत्रमा प्रवाहित कर्जा घटेको छ । २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.१ प्रतिशतले कमी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिवधि अध्ययनको अर्धवार्षिक प्रतिवेदन अनुसार कृषिमा प्रवाहित कर्जा ६.१ प्रतिशतले कमी आई ५७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा कोशी प्रदेशमा रु.५ खर्ब ३१ अर्ब बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १०.९७ प्रतिशत रहेको थियो ।

यसैगरी, २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १८ अर्ब २५ करोड रुपैयाँ (३१.८ प्रतिशत) र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम २८ करोड १३ लाख रुपैयाँ (०.५ प्रतिशत) रहेको छ ।

२०७९ पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ०.८ प्रतिशतले घटेको छ भने सो अवधिमा जिल्लागत रुपमा खोटाङ जिल्लामा सबैभन्दा बढी २२.४ प्रतिशतले कृषि कर्जामा वृद्धि भएको छ । साथै, भोजपुर जिल्लामा सवैभन्दा बढी २५.२ प्रतिशतले कृषि कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ ।