‘सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्छौं’


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रबैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताएका छन्।

मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरू रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधन गरिने बताए । उनले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिए । उनले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने बताए ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर नजाने बताए । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका सुझाव र मागहरू व्यक्तिगत समस्यालाई सामुहिक बनाउन खोजिएको बताए ।

गभर्नर अधिकारीले ऋण लिन जाँदा कुनैपनि बैंकका कर्मचारीहरुले कमिसन मागेको थाहा पाइए तत्काल कारवाही गर्ने बताए । उनले बैंकका कर्मचारीहरूले कमिसन माग्ने गरेको भन्ने गुनासो सुन्नसाथ ऋणीसँग खाता लिङ्क देखिएका कर्मचारीहरूमाथि कारवाही गरिएको बताए । उनले ऋण लिँदा कुनैपनि सेवाग्राहीसँग कमिशन माग गरिएको भए तत्कालै केन्द्रिय बैंकमा सूचना दिन र कमिन लिएको भन्ने व्यक्तिहरूले व्यक्तिको नाम र संस्थाको विवरण दिन माग गरे ।