बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौंः अर्थसचिव मरासिनी


काठमाडाैँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन् ।

मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा सचिव मरासिनीले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने बताए ।

अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने उनकाे भनाइ छ । उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनैपनि कसर बाँकी नराख्ने उनले उल्लेख गरे ।

उनले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्ने बताए । सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको उनले उल्लेख गरे ।

उनले अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेको बताए । चालु आर्थिक वर्षको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको उनकाे भनाइ छ ।

सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशत भन्दा माथि गर्न नसकेको उनले जानकारी दिए ।  उनले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने बताए । उनले बजेट रकामान्तर र भुक्तानी दिने विषयमा अर्थमन्त्रालय पारदर्शी रहेको उल्लेख गरे ।

आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको उनकाे भनाइ छ ।