काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले दुग्ध किसानहरुको करिव एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए ।
उनले दुग्ध किसानहरुले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर,गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।
उनले दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए ।
वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने उनले उल्लेख गरे । उनले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताए । अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।
निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको उनकाे भनाइ छ । उनले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरुले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताए ।
सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण उनले माग गरे । उनले दुग्ध किसानका समस्या समाधानमा प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीबाट जवाफ माग गरेका छन् । निजी क्षेत्र मुनाफा, व्यापार, आयात र कर छुट मात्रै पेश गर्ने भन्दा पनि उद्यमशिलतामा लगानी गर्ने आवश्यक रहेको उनकाे भनाइ छ ।
उनले पाउडर दुध बाहिरबाट ल्याउने, दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो ? भन्दै सरकारलाई प्रश्न गरे । देशमा उत्पादन भएकाले वस्तु पुग्दा समेत बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता नभएको उनले बताए । दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध, ८५० मेट्रिक टन मखन १ करोड ४५ लाख भन्दा बढीको मौज्दातमा बसेको उनले उल्लेख गरे ।
उनले सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न नचाहेको आरोप लगाए । सरकारले दुधको भुक्तानी नदिँदा किसानहरु मल,बीउ, जनजीवन धान्न र औषधिहरु किन्न पैसाको अभाव र पीडामा रहेको उनले बताए । उनले जनता दुःखमा पर्दा सरकार रमिता हेरेर बस्न नमिल्ने उल्लेख गरे ।
उनले दुग्ध विकास संस्थानको क्षमता विकास, स्टोरेज, वितरण प्रणाली, कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताए ।
सरकारको नेपाल प्रहरी,नेपाल आर्मी जस्ता संस्थाहरुमा दुग्ध अनिवार्य रुपमा दुग्धजन्य पदार्थहरु जाने कुरा, चक्लेट उद्योगहरु सञ्चालन, धुलो दुग्ध उत्पादन गरी मुलुकभित्रका उद्योगलाई प्रवद्र्धन गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्