‘कृषक पाठशालालाई प्रभावकारी बनाउन तीनै तहका सरकारबिच सहकार्य आवश्यक’


काठमाडौँ । कृषक पाठशालालाई प्रभावकारी बनाउन तीनै तहका सरकारबिच सहकार्य गर्न सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको कृषक पाठशाला अभ्यास सम्बन्धी ‘नीति संवाद’ कार्यक्रममा बोल्दै सरोकारवालाले विभिन्न संघसंस्था, र तीनै तहका सरकारबिच सहकार्य र सम्वन्य गरेर अघि बढ्न आवश्यक रहेकाे सरोकारवालाले बताएका हुन् ।

उनीहरूले अगुवा किसानलाई प्रथामिकता दिनु पर्ने, साना र ठूला किसानका फरक–फरक नीति हुनु पर्ने, स्थानीय स्तरका कृषक पाठशाला सहजकर्ता हुनुपर्ने जस्ता विषयमा ध्यान दिन जाेड दिएका हुन् ।

कार्यक्रममा बाेल्दै कृषि विभागका उपमहानिर्देशक राजेन्द्र काेइरालाले स्थानीय तहमा किसान र कृषि क्षेत्र बढी भएकाले स्थानीय तहमा उक्त कार्यक्रम प्रभावकारी रूपमा ल्याैजान आग्रह गरे ।

उनले पाठशालामा सिमित क्षेत्रफलमा विभिन्न प्लटहरू विभाजन गरी कृषकले प्रयोग गरीरहेको खेती प्रविधी र जलवायुको प्रकोपसँग जुध्न सक्ने प्रविधिको ज्ञान दिन महासंघलाइ अग्रह गरेका छन् । उनले भने, “उत्पादनकाे काम स्थानीय तहमा हुने हाे तर हामी माथि माथि हिडेका छाैँ । त्यसैले स्थानीय तहमा यसलाइ प्रभावकारी बनाउ अनि बल्ल कृषि क्षेत्र जाेगिन्छ । त्यसकाे लागि विभागले सहयाेग गर्छ ।”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष पंचकाजी श्रेष्ठ श्रेष्ठले बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनसम्म प्रयोगात्मक अभ्यास समेतको सिकाइ भएकाले किसान पाठशाला कृषकका लागि उपयोगी बनेको बताए । उनले विभिन्न निकायले कृषक पाठशाला संचालन गरेकाले यसलाई एकरुपता ल्याउनु पर्ने तर्क गरे । “नीजि तथा सरकारी लगायत विभिन्न निकायले दिएको कृषक तालिमको ज्ञान फरक फरक भएकाले एकरुपताको आवश्यक छ,” उनले भने ।

उनले रसायनिक विषादीको प्रयोगमा कमी ल्याउँदै तरकारी खेतीमा अन्य बैल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गरिएकाे बताए ।

महासंघको राष्ट्रिय निर्देशक केदार कोइरालाले सरकार संघीयतामा गइसकेपछि कृषि प्रसारको संरचना टुटेको बताए । “कृषक पाठशाला कृषि प्रसारको सशक्त माध्यम हो तर राज्य संघीयतामा गइपछि कृषि प्रसारको संरचना टुटेको छ,” उनले भने, “आयातित कृषि उपजको उपभोग बढ्दै गएको तर नेपाली कृषि हराउँदै गएको छ ।”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका निवर्तमान अध्यक्ष नवराज बस्नेतले विषादीरहित कृषिउपज उत्पादन, रोगकीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवद्र्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको दाबी गरे। पाठशालामा रासायनिक मलको न्यूनीकरण र प्राङ्गारिक कृषि उत्पादनको तरिका, विधि तथा सीप सिकाइएको सहजकर्ता बस्नेत बताए ।

उनले भने,”स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा व्यवस्थापन गर्न पाठशालामा व्यवहारिक अभ्याससमेत गराइएको छ ।”

लिवार्डका अधिकारी निरजन पुढासैनीले स्थानीय भाषामा आधारित कृषक पाठशालाको सहजकर्ता हुनुपर्ने सुझाएका छन् । सहजकर्ता छनौट गर्दा स्थानीय तहको कृषि ज्ञान केन्द्रसँग समन्वय हुनु पर्ने सुुझाएका छन् ।