विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छः प्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए ।

उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए । सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने उनकाे भनाइ छ।

उनले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने उल्लेख गरे ।

नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको उनले बताए ।

वाह्य मतदानकाे लागि स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने उनले उल्लेख गरे । निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको उनकाे भनाइ छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए ।

उनले निर्वाचनको मुल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको उल्लेख गरे ।