ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई नयाँ गति दिन्छः ऊर्जामन्त्री बस्नेत


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा उनले नेपाल विद्युत प्राधिकरण ऊर्जा व्यवस्थापनलाई सबल, सक्षम र सुदृढ रुपमा सञ्चालन गरिरहेको बताए ।

प्राधिकरणले निर्माण गरेको विद्युत वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएकाे उल्लेख गरे ।

मन्त्री बस्नेतले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धी हासिल भएको बताए । ऊर्जा क्षेत्रको विकास सँगसँगै ऊर्जा क्षेत्रको व्यवस्थापन मुख्य चुनौती रहेको उनकाे भनाइ छ । उनले ऊर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणका लागि डिजिटाइजेशनको लागि कोशेढुंगा सावित हुने बताए ।

उनले डेटा सेन्टर बिना प्राधिकरण अघि बढ्न नसक्ने अवस्थामा रहेको भन्दै अब त्यो समस्या सिर्जना नहुने बताए ।

विगत ७ वर्षअघि प्राधिकरण सञ्चालनका हिसाबले कमजोर स्थितिमा रहेको र अहिले पनि प्रणालीगत सञ्चालनमा गुणस्तरमा पूर्ण नरहेको उनले उल्लेख गरे ।

उनले विद्युतीय क्षेत्रको समग्र डिजिटाइजेशनको शुरुवात डाटा सेन्टरसँग सबै क्षेत्र समेटेर अघि बढ्ने हिसाबले बढेको बताए । प्राधिकरणले थ्रि फेज स्मार्ट मिटर देशभर नै विस्थापित गरिसकेको जानकारी दिए ।

सिंगल फेज स्मार्ट मिटर पनि पाइलटको रुपमा करिव १ लाख मिटर सम्पन्न गरिसकेको उनले बताए । देशभर नै स्मार्ट मिटर विस्थापित गर्नेगरी अघि बढाइरहेको उनले उल्लेख गरे । प्राधिकरण भित्रको बिलिङ प्रणाली, पेमेण्ट प्रणाली सबैलाई अटोमेसनमा लैजाने गरेर परिवर्तन गरिरहेको उनकाे भनाइ छ ।

उनले प्राधिकरण भित्रको सबै प्रणालीलाई डिजिटाइज गरेर डिजिटल एनइए स्थापित गर्ने कार्यक्रम अघि बढिरहेको बताए ।

घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत प्रणाली सुधार्न ‘डिजिटल एनइए’अन्तर्गत धेरै कामहरु अगाडि बढाइएको जानकारी दिए । डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने काम भइरहेको उनकाे भनाइ छ । 

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । टियर ३ मापदण्डका लागि तोएिका सर्तहरु पूरा गर्न आवश्यक व्याकअपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहु-वैकल्पिक व्यवस्था गरिएको छ ।