लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरू भएको थियो ।

मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो ।

चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।