संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र होः सभामुख घिमिरे


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् ।

आइतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने बताए। संसदको कुटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने बताए । उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने दाबी गरे ।

उनले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ की सक्दैन ? भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए । उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकेको बताए । उनले २००७ सालदेखि बनेका कानूनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको जानकारी दिए ।

सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कुटनीतिलाई ठिक ढंगबाट निर्क्याेल गर्ने, विश्वव्यापी रुपमा कुटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।