दूग्ध किसानका समस्या समाधान गर्न डेरी उद्योग संघको माग


काठमाडौँ । नेपाल डेरी उद्योग संघले दुग्ध क्षेत्रका समस्या समाधानको लागि सकारात्मक पहल कदम चाल्न सरकारसँग माग गरेको छ ।

संघले आज एक विज्ञिप्ती जारी गर्दै विगत १ वर्ष देखि दुग्ध क्षेत्रमा देखिएकाे समस्याका कारण किसानहरूको नियमित भुक्तानी चक्रमा असन्तुलन भएकाले किसानहरूलाई दिन बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेकाे हाे ।

डेरी उद्योगहरू समस्यामा परेको बेलामा सरकारले आफ्नो स्वामित्वको दुग्ध विकास संस्थानको मात्र समस्या समाधान गर्ने गरी रु. ३० करोड ऋण उपलब्ध गराई निजी उद्योगको समस्यालाई बेवास्था गर्दा उक्त समस्या समाधान नहुने संघले जनाएकाे छ ।

“झण्डै ८० प्रतिशत बजार हिस्सा ओगट्ने निजी क्षेत्रका डेरी उद्योगलाई पनि नेपाल सरकारबाट आर्थिक वर्ष २०८१\८२ को बजेट वक्तव्य मार्फत विद्यमान समास्या समाधान गर्न केहि ठोस नीति तथा कार्यक्रम ल्याउने लिखित प्रतिबद्धता जनाए पनि बजेट मार्फत यस निजी उद्योगको समस्याको बारेमा कहीँ कतै सम्बोधन हुन सकेन,” विज्ञप्तीमा भनिएकाे छ ।

संघले निजी डेरी उद्योगहरूले किसानको भुक्तानी नदिएको भनि भ्रामक प्रचार गरी समस्या समाधन तर्फ अगाडि बढेको प्रयासलाई बिथोल्ने क्रियाकलाप भैरहेको प्रति उद्योग, किसानहरू र सरकारी निकायहरूलाई समेत सचेत हुन आग्रह गरेकाे छ ।

संघसँग आबद्ध डेरी उद्योगहरूले उपलब्ध गराएको विवरण अनुसार फ्लस सिजन (भाद्र–फाल्गुन) मा दैनिक ५ लाख लिटर दुध र लिन सिजन (चैत्र–श्रावण) मा ३ लाख ७५ हजारसम्म दुध संकलन हुँदै आएको संघले जनाएकाे छ ।

ज्येष्ठ मसान्तसम्मको १ अर्ब रुपैयाँ मात्रै दुधको रकम किसान भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । संघले ६ हप्ताको भुक्तानी मात्रै बाँकी रहेको उल्लेख गरेको छ ।

संघले आगामी फ्लस सिजनमा मिल्क होलिडे हुन नदिन आन्तरिक खपत भन्दा बढी भएको मौज्दातलाई निर्यात गर्न सहजिकरण गर्ने तथा निर्यात गर्दा अनुदान दिने, माग र आपूर्तिको आधारमा कच्चा दुधको मुल्य निर्धारण गर्ने जस्ता व्यवस्था गर्न सरकारसँग माग गरेकाे छ ।