कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतवार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनमा उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए ।

उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको उल्लेख गरे। लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको उनकाे भनाइ छ ।

उनले नेपालको शिक्षा प्रणाली ध्वस्त भएको प्रमाणित भएको बताए । राजनीति बद्नाम भइरहेको उल्लेख गर्दै सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताए ।

अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको उल्लेख गरे । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको उनकाे भनाइ छ ।