क्रसर व्यवसायी दुई सातादेखि आन्दोलनमा, कडा संघर्षको चेतावनी


काठमाडौँ । उद्योगहरूकाे नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले थालेको आन्दोलनले दुई साता पार गरेको छ । तर माग सम्बोधनमा सरकार गम्भीर नभएको व्यवसायीहरूको गुनासो छ ।

नियमानुसार उद्योग नवीकरणको माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा क्रसर व्यवसायीहरुले काठमाडौँको माइतीघर मण्डलामा यही असार १ गतेदेखि धर्ना तथा प्रदर्शन गर्दै आएका छन् ।

आफूहरूको माग सम्बोधनका लागि पटक–पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भए पनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीले नियमसम्मत दर्ता भएका क्रसर उद्योगहरू विगत १० वर्षदेखि नवीकरण हुन नसक्दा मारमा परेकाले आन्दोलन गर्नुपरेको बताए ।

व्यवसायीहरूले उद्योग नवीकरणको आफुहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।