३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज लिमिटेड नियुक्त


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७।५५ दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।