पेवेल र सजिलो पेबाट अवैध रकम भुक्तानी


काठमाडौँ । अवैध रकम भुक्तानी गर्नको लागि भुक्तानी सेवाप्रदायक संस्थाहरु पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.कोसंलग्नता रहेको देखिएको छ । नेपाल अनुसन्धान ब्यूरोले अवैध रकम भुक्तानीमा डिजिटल वालेटहरु सजिलो पे र पेवेलको संलग्नता देखिएको जनाएको हो ।

२०८० साउन २ गते बरामद भएको अवैध सुनको अनुसन्धान गर्दा सिआईबीले सजिलो पे र पेवेलबाट भुक्तानी हुने गरेको बताएको हो । सिआईबीले अवैध कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल र सजिलो पेको खातामा निक्षेप, रकमान्तर, स्थानान्तराण, भुक्तानी र फस्र्यौट भएको उल्लेख गरेको छ ।

यी कम्पनीले नेपाल राष्ट्र बैंकको स्विकृती बिना एजेन्ट मार्फत नगद कारोबार गरेको देखिएको सिआईबीले जनाएको छ । पेवेल र सजिलो पेले राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दैनिक र मासिकरुपमा पेस गर्नुपर्ने विवरणमा गलत तथ्यांक पेश गर्ने गरेका थिए । यी कम्पनीबाट अवैध कारोबार हुने गरेको भेटिएपछि सिआईबीले वालेटको बैंक खाता रोक्का गरेको छ ।

अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका ७ ओटा विभिन्न कम्पनीहरु मध्ये ५ ओटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक्स मालवस्तु (पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन) तथा ब्रेक शु मा गरी ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी पैठारी गरेको देखिएको हो ।

यो ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको सिआईबीले उल्लेख गरेको छ ।