नेप्से १०२ अंकले बढेपछि दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द


काठमाडौं । मंगलबार बजार खुलेको २ मिनेटमै ८२ अंकले बढेर सर्किट लागेको नेप्सेमा पुन: सर्किट लागेको छ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २० मिनेट स्थगित भइ खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ । नेप्से परिसूचक कारोबार सुरु भएको एकघण्टामै १०२.६८ अंक (५ प्रतिशत)ले बढेर २१५६.०७ अंकमा पुगेको छ ।

पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।

दोश्रो सर्किट लाग्दासम्म बजारमा २३३ कम्पनीको सेयर कारोबार हुँदा २३२ कम्पनीको सेयरको मूल्य बढेको छ भने १४ करोड १७ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।

दोश्रो सर्किट लाग्दासम्म एनआईसी एशिया बैंक, युनिभर्सल पावर कम्पनी, हिमालयन डिस्टीलरी, मनकामन स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक, इन्फिनिटी लघुवित्त, मन्दाकिनी हाइडोपावर लगायतका कम्पनीको मूल्य सर्किट लेभलमा पुगेको छ ।

नेप्सेमा कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ भने पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेटका लागि कारोवार स्थगित हुने नियम रहेको छ । त्यस्तै ६ प्रतिशतसम्म बजार घट्न वा बढ्न सक्नेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ ।