३० दिनभित्र दोहोरो पद छाड्न सहकारीका सञ्चालकलाई विभागको निर्देशन


काठमाडौँ । सहकारी विभागले एउटाभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागबाट बुधबार जारी निर्देशनमा उल्लेख छ ।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेकोले त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिएको विभागको भनाइ छ ।

विभागका अनुसार यस सन्दर्भमा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्ने र सो शब्दले सहकारी बैंक समेतलाई जनाउने छ ।

उक्त अवधिमा यो निर्देशनअनुसार सञ्चालक नरहेमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने पनि बताइएको छ ।