प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नबुझाइ फर्किए रास्वपाका मन्त्री


काठमाडौँ । राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्रीको सान्त्वनासँगै काममा फर्किएका छन् ।

बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिन पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीहरू राजीनामा नदिइकनै सिंहदरबार फर्किएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

रास्वपाबाट सरकारमा अहिले सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।