पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक प्रहरी मिरर’ विमोचन


काठमाडौँ । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘ट्राफिक प्रहरी मिरर’ को आज बिमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको बिमोचन गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ट्राफिक प्रहरी मिरर को प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको समेत बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए ।

विमोचन कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको ट्राफिक प्रहरी मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लङ्ग पारेको बताए ।