कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा, नियमित बढुवाको माग


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन्। बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन्।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहश्क भनाइ छ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए। उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए।

उनले आन्दोलन असार १४ गतेदेखि सुरू गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए।