बजेटबारे आधारभूत जानकारी


काठमाडाैँ । पुँजीगत खर्चबारे बुझ्नु पूर्व अलिकता बजेट भनेको के हो भनेर बुझ्नु पर्छ । सरकारहरूले आफ्नो आम्दानी र खर्चको जुन विवरण बनाउँछन्, त्यसलाई बजेट भनिन्छ ।

सन् २००५ मा अन्तरराष्ट्रिय मुद्रा कोषको नयाँ विधि आउनुपूर्व साधारण खर्च र विकास खर्च भनेर वर्गीकरण गरिन्थ्यो । साधारण खर्चमा सरकारका दैनिक सञ्चालन र प्रशासनिक कार्यहरूको लागि गरिने खर्च समेटिन्थ्यो भने विकास खर्चमा भौतिक संरचना, दीर्घकालीन विकास र अन्य आयोजनाहरूमा गरिने लगानी समाविष्ट हुन्थ्यो । हाल बजेटमा तीन वर्ग हुन्छन्- चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था ।

चालु खर्चः साल बसाली रूपमा हुने खर्चहरू चालु खर्चमा पर्दछन्। यस अन्तर्गत साल बसाली रूपमा गरिने उपभोग खर्च, दैनिक रूपमा कार्य सञ्चालनका लागि आवश्यक खर्च, सरकारी निकायले सार्वजनिक हितका लागि प्रदान गर्ने सेवा तथा त्यस्तो सेवा प्रदान गर्ने निकायलाई दिइने सञ्चालन अनुदान, पुँजीगत अनुदान, ऋणको ब्याज भुक्तानी खर्च आयोजना निर्माण सम्पन्न भई सञ्चालन हुनु पूर्वको ब्याज खर्च बाहेक, फिर्ता खर्च जस्ता खर्चहरू पर्दछन् ।

पुँजीगत खर्चः स्थिर सम्पत्तिहरू जस्तैः फर्निचर तथा फिक्चर्स, सवारी साधन, मेसिनरी औजार उपकरण आदि प्राप्त गर्न भएको खर्च, रणनीतिक महत्व वा आपतकालीन समयको लागि व्यवस्था गरिएको मौज्दात, जग्गा, भवन खरिद, सार्वजनिक उपयोगको सम्पत्तिहरू जस्तैः सडक, नहर, विद्युत गृह, वन, बृक्षारोपण, खानी उत्खननको कार्य, स्तरोन्नतिजस्ता विकास पूर्वाधार निर्माणको काम पुँजीगत कामका लागि गरिने अध्ययन अनुसन्धान तथा प्राविधिक परामर्श सेवा, आयोजना निर्माण चरणमा गरिने ब्याज, बिमा, भाडा भरौट, भन्सार कर आदि खर्च, पूँजीगत खर्चको क्षति बापत दिइने मुआब्जा, जस्ता खर्चहरू पुँजीगत खर्चमा पर्दछन्।

वित्तीय व्यवस्थाः अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको सरकारको खुद खर्चमा साँवा भुक्तानी रकम नपर्ने भएपनि साँवा भुक्तानी खर्चलाई छुट्टै वर्गीकरण गरिएको छ । आन्तरिक ऋण तथा सेयर लगानी र त्यसबाट प्राप्त हुने साँवा फिर्ता लगानी, बिक्रीबाट प्राप्त हुने आय, वैदेशिक ऋण लगानी फिर्ता, वैदेशिक सेयर लगानी, वैदेशिक ऋण र सोको साँवा भुक्तानी वित्तीय व्यवस्था अन्तर्गत पर्दछ।

बुझ्नु पर्ने तथ्य पुँजीगत खर्च सबै विकास आयोजनामै जाने रकम भने होइन । कम पुँजीगत खर्च हुनु भनेको राज्यलाई बचत होइन । राज्यको कमजोर खर्च क्षमताको संकेत भने हो । कम पुँजीगत खर्च हुनु भनेको विकास कार्यमा खर्च गर्न नसक्नु हो ।