त्रिशुली नदीमा बेपत्ता भएका बसका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिइएको छः प्रधानमन्त्री दाहाल


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गएराति पहिरोले बगाएर त्रिशुली नदीमा खसेका दुई वटा बसका यात्रुहरुको खोजी कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि प्रश्ताव प्रश्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय र त्यहाँको स्थानीय निकायलाई सचेत गराउँदै खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

उनले जनतालाई विपद्बाट जोगाउन आफूले गृह प्रशासन र सम्बन्धित निकायलाई पनि तयारी अवस्था रहन सचेत गराएको बताए । प्रधानमन्त्री दाहालले मुलुक विपद्मा परेका बेला आफूलाई हटाउने दुःखद् प्रयास भएको पनि जानकारी दिए ।

“अहिले पनि मौसम पूर्वानुमान अनुसार अर्को हप्तासम्म पनि जो वर्षाजारी रहने कुरा गरिएको छ । त्यसको निम्ति आज मात्रै पनि गृह प्रशासन र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता र हुनसक्ने जति तयारी गर्न निर्देशन गरेको छु । मुग्लिन नारायणघाटको बिचमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएपछि मैले चितवन जिल्ला प्रशासनसँग, त्यहाँको महानगरपालिकासँग बिहान मात्रै कुरा गरेर स्थिति के छ, खोजी र उद्धारको निम्ति तदारुपताका साथ खोजी गर्न निर्देशन दिएको छु,” उनले भने ।

प्रधानमन्त्री दाहालले आफूले वर्षातका कारण थप जोखिम हुन नदिन उच्च शतर्कता अपनाउन पनि आग्रह गरे ।