देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्योः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्ताे बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए ।

उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोलेसमष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए ।

उनले गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिव दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको दाबी गरे । ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको बताए ।