बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः गृहमन्त्री लामिछाने


काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरे ।

उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे । उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफुलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए ।

उनले भने, “यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात् म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन । कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् । मैले औपचारिक उद्घाटन गरे नेपालगञ्जमा एउटा जेल । भ्रष्टलाई जेल हाल्छु । सुशासनको एजेण्डा लिएर । यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ । यसलाई तलमाथि पार्न दिँदैनौँ ।”

गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढक्ढकाउन थालेपछि दुई ठुला दललाई संविधानको याद आएको टिप्पणी गरे ।