‘मौद्रिक नीति व्यवहारिक रूपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्छ’


काठमाडौँ । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रूपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ ।

महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रूपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिनेगरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताए । उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

उनले राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताए । उनले घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पुर्‍याउन माग गरे । अध्यक्ष लोहनीले घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्‍याउनुपर्नेमा जोड दिए । उनले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताए ।

उनले घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन माग गरे । उनले कसिलो मौद्रिक नीति कायम हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुुन नसकेको भन्दै आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउनुपर्ने बताए । उनले बैंकहरूमा ६ खर्ब बढी रकम पैसा थुप्रिँदा पनि कर्जा प्रवाह हुन नसकेको दाबी गरे । लचिलो कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरे पनि अहिलेसम्म ५० प्रतिशत पनि हुन नसकेको गुनासाे गरे ।