सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु होः गृहमन्त्री लेखक


काठमाडाैँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका छन् ।

सोमवार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारे ।

गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए । उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि उल्लेख गरे ।

उनले भने, “अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ । मेरा सबै कामहरु देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ ।” गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताए ।