संरक्षित पुँजी फिर्ता कोषको तीन करोड ८३ लाख रुपैयाँ बाँडफाँड


काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड कार्य गरेको हो ।

यससँगै एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संघरसंस्थाहरूले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ ।

संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ\संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले बताए ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ९ लाख ७५ हजार ६ सय ७ रुपैयाँ तथा कर्जा तर्फ ३ लाख २४ हजार ८ सय ४ रुपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईँलेले बताए ।

बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघरसंस्थाहरू बचत तर्फ २६ र कर्जा तर्फ १०४ वटा रहेका छन् । हाल बैंकमा १६ हजार ३ सय ३० सदस्य सहकारी संघ संस्थाहरू रहेका छन् ।