निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौँ, चाँडै भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् ।
शुक्रवार निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए ।

उनले निर्माण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको उल्लेख गरे । सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको उनकाे भनाइ छ ।

सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको उनले बताए । उनले  सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने उल्लेख गरे । अर्थमन्त्री पौडेलले निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने बताए । 

भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग राखे ।

भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार  दिनुपर्ने उनकाे भनाइ छ । स्रोत सुनिश्चितता नभएका आयोजना अगाडि बढाउन सम्बन्धि मन्त्रालय समन्वय गर्नुपर्ने उनले बताए । 

अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजिकरण गर्न माग गरे ।

Skip This