सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ: प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सांसद डा.धवलशम्सेर राणाले सोधेको प्रश्नको जवाफ दिँदै उनले सहकारी कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकेको र बजेट समेत सुनिश्चित गरिएको बताएका हुन् ।

उनले भने, “जहाँसम्म सहकारीको विषय छ यसमा सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलहरूबाट प्राप्त हुन आएका सुझाव एवं सहकारी पीडितहरूसँग पटक–पटक गरिएका सहमतिहरू कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट विभिन्न प्रयासहरू अगाडि बढेका छन् ।”

उनले समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरूसँग अनलाइनमार्फत मागदाबी माग गरिएबमोजिम ५९ हजार ५८७ वटा मागदावी निवेदन प्राप्त भएको र ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रूपैयाँ बराबरको दायित्त्व एकिन गरिएको दाबी गरे ।

ओलीले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार गरिएको र सहकारी ऐन २०७४ को संशोधन मस्यौदा तयारीको चरणमा रहेको बताए ।

Skip This