नेपालको वैदेशिक व्यापार १.३३ प्रतिशतले घट्यो


काठमाडौँ । गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार १.३३ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँको कुल वैदेशिक व्यापार भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा १.३३ प्रतिशतले घटेर १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको मात्र वैदेशिक व्यापार भएको छ ।

गत वर्ष नेपालको आयात निर्यात पनि घटेको छ । गत आर्थिक वर्षमा आयात १.१६ प्रतिशतले घट्दा निर्यात ३.०३ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको थियो आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

गत आर्थिक वर्षमा नेपालको आयात हिस्सा ९१.२७ प्रतिशत रहँदा निर्यातको हिस्सा भने ८.७३ प्रतिशत मात्र रहेको छ ।