भारतीय बजेट २०२४: नेपाललाई दिइने सहायतामा वृद्धि


काठमाडौं । भारतले नेपाललाई दिइने सहायतामा वृद्धि गर्दै ७ अर्ब रुपैयाँ भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्‍याएको छ । नरेन्द्र मोदी नेतृत्वमा बनेको तेस्रो कार्यकालको सरकारले भारतीय संसदमा पेश गरेको पहिलो बजेटमा अघिल्लो वर्षको तुलनामा २७.२७ प्रतिशतले सहायता बढाएको हो ।

सन् २०२३/२४ को बजेटमा नेपाललाई भारु ५ अर्ब ५० करोड सहायता दिइने उल्लेख थियो भने पछि पुनरावलोन गरि भारु ६ अर्ब ५० करोड पुर्‍याइएको थियो ।

भारतले साना आयोजना सहायता कार्यक्रमका नाममा भारतीय दूतावासमार्फत ५ करोड रुपैयाँसम्मका आयोजनामा यस्तो रकम सोझै खर्च गर्दै आएको छ । यस्तो सहायताका लागि नेपालस्थित भारतीय दूतावासले स्थानीय पालिकाहरूमार्फत आवेदन माग गरि अर्थमन्त्रालयको सहमतिमा गाउँगाउँमा प्रत्यक्ष लगानी गर्ने गर्छ ।

भुटानलाई दिइने सहायता घट्यो

आफ्नो बजेटमा भारतकै भर पर्दै आएको भुटानका लागि भारतीय वित्तमन्त्री निर्मला सिथारमणले पेश गरेको बजेट निराशायुक्त बनेको छ । भारतले भुटानलाई दिइने सहायता राशीमा उल्लेख्य कटौती गरेको छ ।

भारतले भुटानलाई दिइने सहायतामा सन् २०२३/२४को सुरु विनियोजनको तुलनामा करिब १४ प्रतिशतले कम गरेको छ । भुटानलाई सन् २०२३/२४ मा २४ अर्ब भारु सहायता स्वीकृत गरिएकोमा २०२४/२५ का लागि २० अर्ब ६८ करोड भारुमात्र विनियोजित छ ।

Skip This