विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवार भेटेपछि स्वास्थ्यमन्त्रीः दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् ।

बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए ।

शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको उनकाे भनाइ छ । बिहीवार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको उनले बताए ।

उनले पहिचान हुन नसकेको शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने उल्लेख गरे । नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै उनले वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु परिरहेको बताए ।

उनले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने उल्लेख गरे । सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि उल्लेख गरे।

उनले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताए । 

उनले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि उल्लेख गरे ।

विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकता छिटै पत्ता लाग्ने पनि उल्लेख गरे । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने उनकाे भनाइ छ । बुधवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत रहेका छन् ।

Skip This