नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि सांसदहरुले उठाए प्रश्न


काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन् ।

सांसदहरुले प्राधिकरणको नेतृत्वमा प्रदीप अधिकारी आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्व माथि प्रश्न उठाएका हुन् । उनीहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् ।

सांसदहरुले इयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे । अधिकारीले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने सांसदहरूले बताए ।

उनीहरुले नैतिकताको आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे । प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भएपनि सधैँ अरुलाई दोष दिने गरेको बताए । सांसदहरुले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए ।

उनीहरुले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए ।  समितिमा नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए ।

उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताए । नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको उनकाे भनाइ छ। सन् १९९६ यता साना ठूला ६० वटा जहाज दुर्घटनामा परिसकेको उनले बताए ।

उनले प्राधिकरणमा अधिकारीको नेतृत्व लिए यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । अब प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको उनकाे भनाइ छ ।

समिति बैठकमा नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाका विषयमा देश,सरकार र मुलुकको अभ्यास यस्तै हो ? भन्दै प्रश्न गरिन् । जिम्मेवार निकायहरुले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने उनकाे भनाइ छ । उनले जिम्मेवार निकायका प्रमुखहरुले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको बताइन् ।

हवाई सुरक्षामा इयुको कालोसूचीबाट हटाउने लगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको उनकाे भनाइ छ । सचेतक बरालले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताइन् ।

प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरुसँग उडान गर्न तदारुकता नदेखाएको उनले उल्लेख गरिन् । उनले दुतावासले प्रयास गर्दा समेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको बताइन् । 

समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा जहाज विमान दुर्घटना भएको बताए । उनले ७ वटा जहाज विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको उल्लेख गरे ।

पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने अवस्था रहेको बताए । उनले ७ वटा हवाई दुर्घटनाबाट मुत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने ? भन्दै प्रश्न गरे । उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेकाले क्षमतामाथि प्रश्न उठाउन सक्ने ठाउँ रहेको बताए । 

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खाजेको बताए । उनले संसदीय समितिमा सांसदहरुले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने बताएका छन् ।

संसदीय समितिमा सांसदहरुले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने उनकाे भनाइ छ । हवाई सुरक्षा सम्बन्धि नियमनकारी निकायहरुको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको उनले बताए ।

नियमनकारी निकायका प्रमुखहरुले लिएको जवाफबाट आफ्नो जिम्मेवारबाट भाग्न खोजेको देखिएको उनले उल्लेख गरे । सांसद ढकालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको द्वन्द्वलाई लिएर मन्त्रीले हिँड्न नहुने बताए ।

कोरियामा नेपाली जहाज जान नपाउने तर कोरियन जहाज नेपालमा आउने भन्दै कोरिया जहाज पनि रोक्न आवश्यक रहेको उनकाे भनाइ छ । कोरियन जहाज नेपाल आउन प्राधिकरणले रोके समितिले साथ दिने उनकाे भनाइ छ । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मुत्यु भएका ९६९ को जिम्मेवारी लिने बताए । उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको उल्लेख गरे ।

अहिले राज्यले गठन गरेको आयोग नै आधिकारीक भएको उनकाे भनाइ छ । आयोगले छानविन गरेर जसको गल्ति देखायो त्यसकै गल्ति हुने उनले बताए । 

समितिमा आफ्नो व्यक्तिगत रुपमा छलफल गरिएको बताए । प्राधिकरणको नियममा बादलभित्र जहाज जानु हुँदैन भन्ने रहेपनि जोमसोम दुर्घटनामा पाइलटले बादलमा लैजाँदा विमान दुर्घटना भएको उनकाे भनाइ छ ।

Skip This