देशभरका अदालतमा सहकारीसम्बन्धी ६८५ वटा मुद्दा


काठमाडाैँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानवीन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरूकाे सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ ।

हिजाे (बिहीवार) को समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो ।

उनीहरूसँग सहकारी सम्बन्धित मुद्दाहरू, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए । उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगीका १५१ वटा मुद्दाहरू रहेको पाइएको जानकारी दिए ।

त्यसैगरी देशभरका अदालतमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि उनले बताए । उनले भने,”सहकारी ऐन अन्तर्गत ठगीका मुद्दाहरूलाई मिलापत्र गर्न खुल्ला छ । नयाँ प्रवन्ध छ । तर सबै मिलापत्र हुने स्थिति छैन । नियतवश अपराधिक कार्य गरेकोमा मिलापत्र हुने स्थिति पनि हुँदैन । मुद्दाले लामो समय लिने समस्या रहन्छ । महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगिका १५१ वटा मुद्दा । ललितपुरमा १४, भक्तपुरमा ४, कास्की ६, चितवन ९, मोरङ ८, सुनसरी ६, कैलाली ४, रुपन्देही ४, बाँके ४ जस्ता रहेका छन् ।”

सभापति थापाले समितिको आगामी बैठक आज (शुक्रबार) बस्ने र सो बैठकमा प्रतिनिधिमुलक ढंगले पूर्वअर्थमन्त्रीसँग छलफल गरिने बताए।

Skip This