आइतबार ११३ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार ११३.४२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको कारोबारको पहिलो दिन आइतबार ११३.४२ अंकले बढेर २६८१.५६ अंकमा पुगेको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आएको छ । आइतबार प्रिओपन सेसनमै ३८ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार सुरु भएको १ मिनेट नपुग्दै ३.९९ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लाग्यो ।

पहिलो सर्किट लाग्नेबेला नेप्से परिसूचक १०२ अंकले बढेर २६७०.८२ अंकमा पुगेको थियो । पहिलो सर्किटमा २० मिनेट बन्द भएर खुलेको बजार पुनः १२५ अंकले बढेर २६९७.२१ अंकमा पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेकमा बजार ४.८८ प्रतिशतले बढेको थियो ।

दोस्रो सर्किट ब्रेक खुलेपछि बजार विस्तारै घट्न थाल्यो । आज २७ सय अंक नाघेको नेप्से परिसूचक २६८१.५६ अंकमा बन्द भएको छ ।

आज लगानीकर्ताको आर्कषण भने बाणिज्य बैंकमा देखिएको छ । कारोबार सुरु भएदेखिनै बाणिज्य बैंकको सेयरमूल्य बढेको छ ।

कुल ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।