सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई विशेष समितिकाे निर्देशन


काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सभापति सूर्यबहादुर थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको बताए ।

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरूको नाम गृहमन्त्रीलाई दिएको छ ।