स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेकाे प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन्। मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बिमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए ।

स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेटनका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाइ थियो ।

“अहिलेकै नीति, नियम भित्र बिमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बिमा सम्बन्धि ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई विमासँग आवद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरू थप पक्षलाई कसरी जोड्न सकिन्छ ? त्यसको निम्ति गृहकार्य भइरहेको छ,” उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।