प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवहरुलाई निर्देशन दिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन्।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा सचिवहरुलाई प्रधानमन्त्रीले निर्देशन दिने तयारी भएको उनको सचिवालयले जनाएको छ।

बैठकमा उपप्रधानमन्त्री र मन्त्रीको पनि उपस्थिति रहनेछ। त्यसैगरी प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।