काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयमा आफूले नियमित कोदोको परिकार खाने बताएका छन् । आज ललितपुरको खोकना चौथो कोदो दिवस २०८१ मा बोल्दै उनले सरकारले कोदो उत्पादनलाई प्रोत्साहनको निम्ती मन्त्रालयका चेमना गृहहरूले समेत कोदोका परिकार नियमित बनाउने गरेको बताएका हुन् ।
उनले केही वर्षअघि दुबै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खाेले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै ठाउँमा भौतारिएर हिडेको अवस्था रहेको बताए । उनले कोदोको प्रवद्र्धन गर्न विभिन्न संघ संस्था मिलेर दिवस मनाउँदा अगामी दिनमा यसको उत्पादन बढाउने तर्फपनि कामहरू गर्न आग्रह गरे । उनले भने,“किसानलाई प्रोत्साहन गर्नको लागि म आज खोकना आएको र कोदोको परिकार सेवनले शरिरलाई अत्यन्त फाइदा दिन्छ।”
उनले अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिकाहरू कुपोषण जस्ता रोगहरूसँग जुध्न बाध्य भएको बताउँदै नियमित कोदोका परिकार खान समेत आग्रह गरे । उनले कोदो बालीको महत्वलाई उजागर गर्नमात्रा कोदो दिवस नमनाएर स्थानीय तहहरूमा यसलाई रोप्नको लागि समेत प्रेरित गर्नको लागि आग्रह गरे ।
राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो आज बहुगुणी चिजको रूपमा परिचित रहेको बताए । उनले कोदोको लागि धेरै मिहिनेत गर्नु नपर्ने बताउँदै यसको संरक्षण र उत्पादनमा वृद्धि गर्न सबै तहका सरकारहरूले काम गर्नुपर्ने बताए । उनले कोदोको खानेकुराको प्रवद्र्धन गर्नेभन्दा पनि यसको उत्पादनमा प्रवद्र्धन गर्न आजको आवश्यकता रहेको दाबी गरे । उनले भने, “महासंघ र अनाजले मात्रा यसलाई प्रवद्र्धन गर्न सम्भव छैन । यसको लागि सरकारले पनि विशेष पहल गर्नुपर्छ ।”
कृषि विज्ञ डा.कृष्ण प्रसाद पौडेलले भविष्यमा खाद्य संकट हुने बताउँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गरे। उनले कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोकाे आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने बताए ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठले कोदोको संरक्षण गर्नको लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए । उनले कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहहरूमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेको बताए । श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनैपनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वास्थ्य र देशका लागि नै फाइदा हुने दाबी गरे ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिवले रामकृष्णा श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रकमा फसेको र स्कुल पढ्ने बच्चाहरू कुपोषण जस्तो रोगमा फसेको बताए । उनले शरिरको लागि फाइदा बढी भएकाले कुपोषण जस्तो रोगबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादनमा प्रवद्र्धन गर्नुपर्ने बताए ।
कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासंघ र अनाजले कोदो बहस श्रुखलाको सुरुवात गरेको र उक्त कार्यले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताए । उनले कोदोको औषधिक गुणहरु र अन्य पोषक तत्वहरुले गर्दा स्वस्थ खानपानसम्बन्धी व्यवहारका लागि कोदोको प्रबद्र्धन अत्यावश्यक रहेको बताए ।
पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गएपनि कोदो उत्पादनमा व्यवसायिकता र किसानलाई आकर्षण गर्नको लागि आवश्यक नठान्दा सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ । जसको फलस्वरुप आर्थिक वर्ष २०७६\७७ मा ७ करोड १५ लाख २७ हजार रुपैँया बराबरको कोदो आयात भएको पाइन्छ । त्यस्तै आर्थिक वर्ष २०७७\७८ मा ७ करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ भने २०७९\८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०\८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ रुपैयाँको बराबरको कोदो आयात भएको सरकारी तथ्याक रहेको छ ।
‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ खोकानामा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एग्रिकल्चर जर्नालिष्ट एसोसिएसन अनाजको संयुक्त आयोजना तथा ललितपुर महानगर कार्यसमिति नगर महासंघ, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र भिएसओ नेपालको सहकार्यमा मंगलबार चौथो ‘कोदो दिवस २०८१’ मनाएको हो ।
जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्ततबारे जनचेतना अभिविद्ध गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूको समर्थनमा सन् २०२१ मार्चमा संयुक्त राष्ट्रसघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रूपमा मनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्