डेरी एसोसिएसनको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्र, देशभर ९० लिटर दुधको खपत भएको दाबी


काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेशनलको सह-आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ ।

एसोसिएसनको केन्द्रिय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अप्टिमेस्टिक इन्टरनेशनल्का गभर्नर प्रकाश घिमिरे, उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डि.वि बस्नेत, दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा र नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न वस्तुगतका प्रतिनिधि एवं कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाेल्दै केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष सापकोटाले उत्पादक किसानले उद्योगीबाट किसानको बाँकी भुक्तानी गर्नका लागि विभिन्न समयमा सम्झौता गरेता पनि हालसम्म नपाएकोमा गुनासो गर्दै अगामी दिनमा सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गर्दै शुभकामना दिए ।

निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरेले डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको र यसकाे निर्यातमा पूर्ण साथ दिने बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले खिर दिवसको सबैलाई शुभकामना दिँदै दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भिर भएर लागिरहेको र समस्या समाधानको लागि काम गरेकाे बताए ।

उनले एसोसिएसनले चलाएको मोही अभियानको प्रशंसा गर्दै एसोसिएसनलाई परेका कठिनाइमा महासंघ सदा साथ रहेको बताए । कार्यक्रममा एसाेसिएसनका अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्दै आगामी दिनमा नयाँ जोश जागरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा गरेका बताए ।

एसाेसिएसनका अनुसार आज देशभरी करिब ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको छ ।