स्याङ्जामा प्रजिअको नेतृत्वमा ५० रोपनी बढी अतिक्रमित सरकारी जग्गा फिर्ता


काठमाडाैँ । स्याङ्जामा प्रजिअ सुनिता नेपालको नेतृत्वमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियान प्रारम्भ भएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृहको निर्देशन भएबमोजिम जिल्ला प्रशासन स्याङ्जामा परेका निवेदन तथा उजुरीहरूका आधारमा जग्गा फिर्ताको अभियान सुरू भएको छ ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ बाट यो अभियानको सुरूवात भएको हो । पुतलीबजार नम्बर १३ मा ५० रोपनी क्षेत्रफलको अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा आउने गरी मंगलबार किल्ला गाडिएको छ । प्रमुख जिल्ला अधिकारी नेपालसहितको टोली स्थानीयसँगको सहकार्यमा फिल्डमा गइ वडा नम्बर १३ अन्तर्गतको अतिक्रमित जग्गा नापनक्सा गरी सिमाना कायम गरी पिलर गाडिएको अतिक्रमित जग्गा छानविन उपसमिति संयोजक सहायक प्रजिअ दीपक पौडेलले बताए।

अतिक्रमित सरकारी जग्गा छानविन समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी नेपालको सक्रियतामा पुतलीबजार नगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीसहितको संलग्नतामा वडा नम्बर १३ को अतिक्रमित जग्गाको साँधसिमाना कायम गरिएको हो ।